आरपी सुवेदी
१५ मंसिर, नेपालगन्ज । जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीका अध्यक्ष ‘भगत सिंह’ उपनामका अर्जुन सिंह सिखलाई बाँके प्रहरीले शनिबार नेपालगन्जमा सार्वजनिक गरेको छ । सिहलार्इ ५ वटा ज्यान मुद्दासहित १८ वटा फौजदारी अभियोगमा प्रहरीले कारवाही प्रकृया अगाडि बढाएको छ ।

अञ्चल प्रहरी कार्यालय भेरीमा आयोजित पत्रकार सम्मेलनमा सिंहलाई सार्वजनिक गर्दै मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक राजेन्द्रसिंह भण्डारीले उनलाई नेपाल-भारत सीमाक्षेत्रबाट पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले पक्राउ परेका सिंहलाई प्रचलित कानून अनुसार कर्तव्य ज्यान, अपहरण तथा शरिर बन्धक, विष्फोटसम्बन्धित अपराधमा मुद्दा चलाईने बतउनुभयो ।मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी नायव उपरीक्षक प्रकाश मल्लको विशेष टोलीले भगतसिंहलाई पक्राउ गरेको थियो । पक्राउ परेका सिंहमाथि ५वटा फरक-फरक कर्तव्य ज्यानका मुद्दा, अपरहण तथा शरीर बन्धक ७ मुद्दा, ज्यान मार्ने उद्योगमा ३ र विष्फोटनका घटना ३ मुद्दा छन् ।
तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई सरकारसँग शान्ति बार्ता गरी हतियार बुझाएका सिंहविरुद्धका मुद्वा सरकारले फिर्ता नगरेपछि पक्राउ पर्ने डरले भारतको रुपैडिहा बजारमा डेरा गरी बस्दै आएका थिए । सिंहलाई सादा पोशाकका प्रहरीले डेराबाटै नियन्त्रणमा लिएको आफन्तले बताएका छन् ।
प्रहरी नायव महनिरिक्षक भण्डारीले उनलाई पक्राउ गरिसकेकाले अन्य कुरा गौण भएको बताउनुभयो । डिआईजी भण्डारीले सिंहको पक्राउ परेपछि भूमिगत समूहको आतंक सकिएको दावी गर्नुभयो । ‘भूमिगत समूहको ठूलो आतंक सकिएको छ । शान्ति प्रक्रियामा आए पनि सीमावर्ती क्षेत्रमा पुनः संगठित हुादै गरेको अवस्थामा भगत सिंह हातपरेपछि हामीलाई ठूलो सफलता दिएको छ ।’ डिआईजी भण्डारीले भन्नुभयो ।
प्रहरीले सार्वजनिक गर्ने क्रममा सिंहले भूमिगत समूहमा लागेर पश्ताचापमा परेको प्रतिक्रिया दिएको बताइएको छ । सिंहको भूमिगत संगठन देशभरी १ सय ३२ जनाले सञ्चालन गरेको अनुसन्धानमा खुलेको बताउँदै डिआईजी भण्डारीले भन्नुभयो, ‘भगतसिंहको पार्टी १ सय ३२ जनाले चलाएका रहेछन’, डिआईजी भण्डारीले भन्नुभयो, ‘भगतसिंहसँग नियमित सम्पर्कमा रहेर उनको अपराधिक कार्यमा सघाउनेहरु क्रमश खुल्दै जानेछन् ।’
संविधानसभा चुननमा मनोनयनअघि मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) सँग पार्टी एकताको सहमति गरिसकेका सिंह अघिकांश कार्यक्रर्ता फोरम लोकतान्त्रिकमा आवद्ध छन ।
डिआईजी भण्डारीले अपराधिक कार्यमा संलग्न जोसुकैलाई कारवाही हुने बताउादै कुनै पार्टी विषेशको कार्यकर्ता बन्दैमा उन्मुक्ति नदिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भूमिगत समूहमा रहेर अपराध गर्दै अन्य पार्टीमा जाँदैमा उन्मुक्ति मिल्दैन । अनुसन्धानले दोषी ठहरिए जोसुकै कानूनको दायरामा आउाछन् ।’
सिंहले विगतमा जे जस्तो कार्य गरे पनि पछुताउँदै हत्या हिंसाको राजनीति छोडेर सरकारसँग शान्ति वार्तापछि आफुसँग भएका सबै हतियार बुझाएर बसेको अवस्थामा पक्राउ परे पनि सरकारले आफुमाथि लगाइएका मुद्दा फिर्ता लिने कुरामा विश्वस्त रहेको बताउनुभयो ।
भगतसिंह बुझाएका हतियार
तराईमा भूमिगत संघर्ष गर्दै आएको जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी -भगतसिंह समूह) ले ०६९ चैत्र १७ गते शनिबार नेपाल सरकारलाई जिल्ला प्रशासन कार्यालय बाँकेमा आफुसाग भएका हतियार बुझाएको थियो ।
पार्टीको बार्ताटोली संयोजक मनोज मण्डल ‘सुवास’ सहितको टोलीले जिल्ला प्रशासन कार्यालय बाँकेमा सरकारलाई बम, बन्दूक र अन्य हतियार बुझाएको थियो ।
सरकारलाई शनिबार बुझाइएका हतियारहरुमा बारबोर नलकटुवा पिस्तोल १७ थान, सकेट बम १६ थान, घडीसहितका टाइम बम ५ थान, प्रेसर कुकर बम २ वटा र बारुद २० किलो रहेको छ । त्यसैगरी अटोमेटिक पेस्तोल १ थान, हाते गि्रनेट ६, भरुवा बन्दुक १, १२ बोरको कारतोस २१, तार फ्युज आधा रोल र १२ बोरको बन्दुक ३ वटा रहेका छन् । ३६ गि्रनेट १, डेटोनेटर ५, डाइनामाइड १ थान, थ्री नट थ्री र एसएलआरका गोली २७ र पेस्तोलका गोली ३ थानसमेत सरकारलाई जिम्मा लगाइएको थियो । हतियार बुझाएर शान्ति प्रकृयामा आईसकेका भगतसिंह कुख्यात अपराधी सिकन्दर पक्राउ परे लगत्तै पक्राउ परेका हुन ।